धुर्मुस भन्छन्- सोचेजस्तो सहयोग पाइएन, सरकारले रंगशालाको अपनत्व ग्रहण गरिदिनुपर्‍यो

Dhurmus 1 धुर्मुस

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले रंगशालाको अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह गरेका छन्।

चितवनको मंगलपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दै आएका कलाकार धुर्मुसले आर्थिक समस्याका कारण निर्माण कार्य रोकिएको बताएका छन्।

फाउण्डेसनको आधिकारिक फेसबुक पेजमार्फत् मंगलबार सार्वजनिक गरिएको एक भिडिओमा धुर्मुसले सरकारी निकायले निर्माण कार्यमा सहयोग नगरेको गुनासो गरेका छन्।

dhurmus धुर्मुस

‘राष्ट्रको रंगशाला निर्माणका लागि सहयोग गरिदिनुपर्‍यो भनेर हरेक स्थानीय निकाय, प्रदेश सरकारदेखि सिंहदरबारसम्म धाइयो तर सोचेजस्तो सहयोग पाइएन,’ धुर्मुसले भनेका छन्।

उनले रंगशाला निर्माणका क्रममा १७ करोड रुपैयाँभन्दा बढी ऋण लागेको बताएका छन्।

‘यति धेरै ऋण लागेपछि हामीले ४ महिनादेखि निर्माण कार्य रोकेका छौं,’ उनले भनेका छन्, ‘ऋण लिएका व्यवसायीहरूको तारन्तार फोन आउँछ। कहिले दिन्छस् पैसा भन्छन्। कुनै कम्पनी त बन्द हुने अवस्थामा पुगेछन्।’

कोरोना महामारी, लकडाउन, चाडपर्वको समयमा पनि दिन रात खटेर रंगशाला निर्माणमा लागेको भन्दै उनले पछिल्ला दिनमा आर्थिक समस्या परेको बताए।