वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ ? के-के लाने ? जानुअघि परिवारलाई के-के कागजात छोड्ने ?

काठमाडाैं । वैदेशिक रोजगारमा जान चाहनेहरु जानु अघिनै धेरै कुरामा सचेत हुने र त्यसै अनुसारको पुर्वतयारी गर्ने हो भने वैदेशिक रोजगार सुरक्षित बनाउन सकिन्छ । विदेश जानु अघि २/४ महिना ढिलोनै किन नहोस धेरै कुरा बुझेर जाने हो भने आफैलाई भविष्यमा आईलाग्न सक्ने दुर्घटना तथा बिभिन्न समस्याबाट बच्न सकिन्छ साथै वैदेशिक रोजगारको क्रममा हुन सक्ने ठगिबाट पनि बच्न सकिन्छ ।

आफ्नो वैदेशिक रोजगार यात्रालाई सुरक्षित बनाउनको लागि साथै गन्तव्य देशमा पुगेर आउन सक्ने समस्या, स्वदेशमा जुन प्रलोभन देखाइएको छ त्यो अनुसारको सेवासुविधालाई सुनिस्चित पार्न, तथा स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेतको लागि पनि पुर्वतयारीले निकै ठूलो भूमिका खेल्छ । साथै आफू गएको मुलुकमा कुनैपनि समस्यामा फसेको अवस्थामा पनि तत्काल उद्दार हुने अवस्थाको लागि पनि पुर्वतयारीले भूमिका खेल्छ ।

हाल वैदेशिक रोजगार बिभागले नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा जाने सन्दर्भमा श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी अवस्था छ । आफू विदेश जानु अघिकै आफ्नो पासपोर्टको नम्बर अनुसार श्रम भएको नभएको ? कुन म्यानपावरबाट जाने ? कुन देशको कुन कम्पनीमा जाने ? कति तलब हुन्छ ? जस्ता जानकारी आफ्नो पासपोर्ट नम्बर हानेर सहजै चेक गर्न सकिन्छ ।

यहाँ हामीले वैदेशिक रोजगारमा जानु अघि आफूले के-के कागजात वा सामग्री लैजाने र आफ्नो परिवारलाई के-के कागजात छोडेर जाने ? भन्ने प्रश्नको जानकारी दिन गईरहेका छौं ।

आफूसाथै लैजानुपर्ने सामग्री तथा कागजातहरु निम्न छन् ।

  • आवश्यक कागजातहरु (भिसा, टिकट, पासपोर्ट, करारनामा, बिमापोलिसी आदि)
  • आवश्यक खर्च (सम्बन्धित देशको मुद्रा)
  • आवश्यक पर्ने व्यक्तिगत सामानहरु
  • सामान्य स्वास्थ्य समस्या आउँदा प्रयोग हुने औषधिहरु
  • केहि खाने कुराहरु
  • आवश्यक पर्ने सम्पर्क नम्बरहरु
  • लगेज (लैजान मिल्ने सामानहरु मात्र)

याद गर्नुहोस्: वैदेशिक रोजगारमा जाने क्रममा पनि आफूले पहिलेदेखिनै राम्ररी चिने-जानेको बाहेक व्यक्तिले कुनै सामान पठाउनु छ भनेर भनेको भरमा सामानहरु लिएर नजानुहोला । आफूले अरुको सामान लैजानै पर्ने भएमा अनिवार्य के सामान हो निश्चित गरेर मात्र लैजानुहोला ।

परिवारलाई छाडेर जानुपर्ने कागजात तथा विवरणहरु निम्न छन् ।

  • पासपोर्ट तथा भिसाको प्रतिलिपि
  • पासपोर्ट कागजात र आफूले जसलाई पैसा बुझाएको हो त्यसै संस्थाबाट गरेको प्रमाण खुल्ने श्रम स्वीकृति लिएको स्टिकरको प्रतिलिपि
  • करारनामा सम्झौता पत्रको प्रतिलिपि
  • बीमा पिलिसिको प्रतिलिपि
  • स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्रको प्रतिलिपि
  • अभिमुखीकरण तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि
  • इजाजत प्राप्त संस्थालाई कानुन बमोजिम बुझाएको रकमको भरपाई (पैसा बुझाउँदा अनिवार्य भौचरमा ‘वैदेशिक रोजगार’ उल्लेख गर्नुहोला)
  • सम्बन्धित इजाजतपत्र प्राप्त संस्था वा निजको प्रतिनिधिको सम्पर्क ठेगाना
  • आफू जान लागेको कम्पनीको ठेगाना तथा सम्पर्क विवरणहरु
  • सम्बन्धित मुलुकको नेपाली दुतावासको ठेगाना तथा सम्पर्क विवरण
  • सम्बन्धित देशमा वा कम्पनीमा कोहि चिनजानका व्यक्ति भएमा उनीहरुको सम्पर्क विवरण
  • सरोकारवाला निकायहरुको सम्पर्क विवरण (वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार वोर्ड, कन्सुलर सेवा बिभाग, आदि)
  • विदेशबाट नेपाल रकम पठाउनका लागि प्रयोग हुने बैंकको विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?