संस्थागत रूपमै पोल्यान्डमा रोजगारी

काठमाडाैं । पोल्यान्डमा रोजगारीका लागि संस्थागत रूपमा नेपाली कामदारको माग भएको छ । रोजगारीमा कामदार पठाउनका लागि दुई म्यानपावर कम्पनीले स्वीकृति पाएको वैदेशिक रोजगार विभागका निर्देशक मनोहर खनालले बताए ।

नेपालस्थित युनिभर्सल इन्रटेनसनल प्रालि र एलाइन्स ह्युमन रिसोर्स प्रालिले नेपाली कामदार पोल्यान्ड पठाउनेछन् । यी मध्ये एलाइन्सले महिला कामदार र युनिभर्सलले महिला तथा पुरुष दुवै कामदार पठाउने भएका छन् । रोजगारीका लागि ३ सय कामदारको माग आएको छ । जसमा महिला २ सय र पुरुष १ सय छन् । पोल्यान्डका तर्फबाट नोवा स्पोटका जो ओ कम्पनीले यस्तो कामदारको माग गरेको हो । यस कम्पनीले कृषि क्षेत्रका लागि सहायक कामदार माग गरको हो । नेपाली कामदारले पोल्यान्डमा मासुजन्य जनावर उत्पादन, कृषि र खेतीमा काम गर्नुपर्ने निर्देशक खनालले बताए ।

२०६७ साल असार २६ गते कामदार पठाउने पहिलो निर्णय भए पनि यही असार ३० गतेदेखि मात्र म्यानपावर कम्पनीहरूले विज्ञापन प्रकाशन गरेका छन् । पोल्यान्ड जानका लागि नेपाल सरकारले भिसा शुल्क, हवाई शुल्क, मेडिकल जाँच खर्च लगायत अन्य खर्चसमेत गरेर जम्मा ८० हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि त्यहाँ पूर्वस्वीकृति नलिई व्यक्तिगत सम्पर्कबाट मात्र कामदार जाने गरेको निर्देशक खनालले बताए । व्यक्तिगत सम्पर्कबाट कामदार जाँदा साढे २ लाखदेखि साढे ३ लाख रुपैयाँसम्म तिर्ने गरेका थिए । याे समाचार आजकाे आर्थिक अभियानमा लेखिएकाे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?