रोल्पा नगरपालिकाले ६० जनालाई पूर्ण छात्रवृत्ति दिने

Rolpa Municipality to provide full scholarship to 60 students रोल्पा नगरपालिका

राेल्पा । ‘रोल्पा नगर, एकघर एक रोजगार’ नीति अन्तर्गत निःशुल्क प्राविधिक अध्ययन छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरुको अभिभावक, शिक्षालय र रोल्पा नगरपालिका बीच त्रिपक्षीय सम्झौता भएको छ ।

कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले प्राविधिक शिक्षामार्फत् धेरै विद्यार्थीहरुको भविष्य उज्ज्वल बनाउने लक्ष्य नगरपालिकाले लिएको बताउनुभयो । विगत चार वर्षदेखि निरन्तररुपमा नगरपालिकाले दक्ष प्राविधिक उत्पादन गर्ने हेतुले पूर्ण छात्रवृत्तिमा नगरले पढाउँदै आएको बताउनुभयो । हरेकवर्ष १ सय जनालाई छात्रवृत्ति दिने नगरको योजना भएपनि विद्यार्थीहरुले प्रारम्भिक चरणमै नाम निकाल्न नसकेपछि कोटाहरु खेर गइरहेको छ ।

Rolpa Municipality to provide full scholarship to 60 students 3 रोल्पा नगरपालिका

राेल्पा नगरपालिकाले दिँदै आएकाे छात्रवृत्ति तथा शैक्षिक गतिविधिकाे बारेमा प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले प्रष्ट्याउनुभएकाे थियाे ।

नगरपालिकाले स्टाप नर्स, इन्जिनियर, ओभरसियर, कृषि तथा भेटेरेनरी शंकायमा पूर्ण छात्रवृत्ति दिइरहेको छ । यसवर्ष ६० जनाले प्राविधिक शिक्षामा पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । यो वर्ष पशुविज्ञान, तीनवर्षे ओभरसियर, आइटी कम्प्युटर र कृषि बालीविज्ञानमा विद्यार्थीहरुले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । रोल्पा नगरपालिकाको दशवटा वडाबाट छनौट भएका उनीहरुले बालकल्याण नमुना मावि लिबाङ र रोल्पा पोलिटेक्निक इन्ष्टिच्यूट कलेज मेबाङमा अध्ययन गर्नेछन् ।

Rolpa Municipality to provide full scholarship to 60 students 1 रोल्पा नगरपालिका

आइतबार भएको त्रिपक्षीय सम्झौतामा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, उपप्रमुख मनकुमारी घर्ती, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, वडाअध्यक्षहरु खिमबहादुर घर्ती, नवराज आचार्य, तुलबहादुर घर्ती र गनसिं पुन लगायत नगरकार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Rolpa Municipality to provide full scholarship to 60 students 2 रोल्पा नगरपालिका

कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत सुशील थापाले गर्नुभएको थियो । कार्यक्रममा बालकल्याण नमुना माविबाट लेखमणी खड्का, रोल्पा पोलिटेक्निक इन्ष्टिच्यूटबाट खिमराज कवर र सहभागीको तर्फबाट गंगा सुनारले बोल्नुभएको थियो । राेल्पा नगरपालिकाले यसप्रकारकाे पूर्ण छात्रवृत्ति दिएर शैक्षिक क्षेत्रकाे विकासमा याेगदान दिएकाे भन्दै अभिभावकहरुले खुसी व्यक्त गरेका थिए । राेल्पा नगरपालिकाले सहिद तथा वेपत्ता परिवार, द्वन्द्वपीडित, घाइते अपांग, अति विपन्न र जेहेन्दार विद्यार्थीलाई प्राथमिकताका साथ छात्रवृत्ति दिने गरेकाे नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापाले जानकारी दिनुभयाे । जलजला प्रेसबाट