मुगुमा ३२ जना मर्ने गरी भएको दुर्घटनाको यस्तो कारण, मृतकको पहिचान खुल्यो (नामसहित)

काठमाडौं । बाँकेको नेपालगञ्जबाट मुगुतर्फ जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नम्बरको यात्रुबाहक बसको टायर पङ्चर हुँदा दुर्घटना भएको पाइएको छ ।

मंगलवार भएको दुर्घटनामा परेर ३२ जनाको मृत्यु भइसकेको छ भने केही घाइतेको उपचार भइरहेको छ ।

मंगलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनागाउँको तपने खोलामा बस दुर्घटना भएको थियो । बसमा ४६ यात्रु सवार रहेका थिए । दुर्घटना भएको बसका चालक बस्ने पट्टिको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा ५०० मिटरजति तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर १३ जना घाइते भएका छन् ।

दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट २ मिनेट टाढा भिरालो मोडमा रहेको छ । दुर्घटनाको समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थलमुनि रहेको थियो ।

प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भीरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देखेर दुर्घटनाको अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको यकिन गरिएको छ ।

मोडमा बस अनियन्त्रित भई भीरबाट खस्दा ३२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टराईले बताएका छन् ।

दुर्घटनामा परी मृत्यु भएका र घाइते हुनेहरु दशैं बिदामा घर आएका काठमाडौं लगायत अन्य शहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी रहेका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १८ पुरुष र ८ महिला र २ नाबालक रहेका छन् भने ४ जनाको सनाखत हुन बाँकी रहेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार घटनास्थलमै मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्ना सेजुवाल, नाम नखुलेका सेजुवालका २ वर्षका छोरा, अन्दाजी २० वर्षीया मनदेवी बम, १८ वर्षीया पूजा बुढा, छायाँनाथ रारा नगरपालिका–८ का ३३ वर्षीया प्यारी विक, २२ वर्षीया सन्तोष बिटालु, छायाँनाथ रारा नगरपालिका–१२ का २२ वर्षीया छारा सावत, अन्दाजी ३५ वर्षीय बस चालक दानबहादुर रावल, छायाँनाथ रारा नगरपालिका–१० की २० वर्षीया सरिता खड्का, छायाँनाथ रारा नगरपालिका–१४ का २२ वर्षीय कर्णसिंह बुढा, छायाँनाथ रारा नगरपालिका–१ की २३ वर्षीया चन्द्रादेवी मल्ल, छायाँनाथ रारा नगरपालिका–६ की रामामाया भाम, १८ वर्षीय उम्मर सावद र छायाँनाथ रारा नगरपालिका–११ का २२ वर्षीय प्रकाश बुढा छन् ।

यस्तै, मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका– ५ का २९ वर्षीय अजय कार्की, ३२ वर्षीया कमला बिसी, छायाँनाथ रारा नगरपालिका–१० का २२ वर्षीय सुनबहादुर विक, छायाँनाथ रारा नगरपालिका–१४ का शिव बुढा, छायाँनाथ रारा नगरपालिका–७ का २१ वर्षीया अमृता शाही राना र उनका अन्दाजी ५ वर्षीय छोरा आयुश राना, छायाँनाथ रारा नगरपालिका–१४ का २० वर्षीय रुपसिंह कार्की, छायाँनाथ रारा नगरपालिका–७ का २२ वर्षीय महेन्द्र शाही, सोरु गााउँपालिका–३ का मनरुप कुमाई, बाँके जिल्ला राँझाका हाल गमगढी बसोबास गर्ने २२ वर्षीय प्रदीप स्वर्णकार छन् ।

उपचारका क्रममा नेपालगञ्ज नर्सिङ होममा लगिएका छायाँनाथ रारा नगरपालिका–४ का १८ वर्षीय चन्द्रप्र्रकाश भाम, छायाँनाथ रारा नगरपालिका–७ का उमेर नखुलेका आदित्यविक्रम शाह, शिक्षण अस्पताल कोहलपुरमा लगिएका सोरु गाउँपालिका–८ का २३ वर्षीय आइतसिंह कामी र छायाँनाथ रारा नगरपालिका–८ का २८ वर्षीय टोपबहादुर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरू छायाँनाथ रारा नगरपालिका–५ का अन्दाजी ३५ वर्षीय प्रेमबहादुर रावल, छायाँनाथ रारा नगरपालिका–१ का २१ वर्षीय शुक्रराज मल्ल, छायाँनाथ रारा नगरपालिका–८ का २१ वर्षीय रतनसिंह रावल, छायाँनाथ रारा नगरपालिका–७ का १८ वर्षीय शैलेन्द्र शाही, २१ वर्षीय गणेशबहादुर रावल, छायाँनाथ रारा नगरपालिका–१ की ९ वर्षीया सुस्मिता शाही, छायाँनाथ रारा नगरपालिका–८ कि २० वर्षीया सम्झना रावल, छायाँनाथ रारा नगरपालिका–११ की ३१ वर्षीया रेखा सावद, छायाँनाथ रारा नगरपालिका–५ का लक्ष्मीचन्द्रा रावल, छायाँनाथ रारा नगरपालिका–१४ की दन्ता बुढाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

नर्सिङ होम नेपालगञ्जमा छायाँनाथ रारा नगरपालिका–१३ की ७ वर्षीय सुजता बम, छायाँनाथ रारा नगरपालिका–११ का हर्षबहादुर सावद र जिल्ला अस्पताल मुगुमा छाँयानाथ रारा नगरपालिका–३ की ६ वर्षीया भूमिका बुढाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको जिल्ला अस्पतालमा सनाखत भई शव परीक्षणपछि दाहसंस्कारका लागि घरपरिवारलाई जिम्मा लगाउने तयारी भइरहेको डीएसपी भट्टराईले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना